नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी नै छ : गृहमन्त्री श्रेष्ठ
काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकमा शनिबार पोखरा पुगेका गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धान जारी रहेको बताउँदै थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने बताए ।
गृहमन्त्री श्रेष्ठले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गर्दै अहिले चर्चामा आएका काण्डमा जोसुकै दोषी देखिए पनि कोही नछुट्ने बताए । तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जाने भन्दै त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब नहुने बताए । उनले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न कसैको पनि निर्देशन नभएको भन्दै प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको बताए ।
ललिता निवासमा किर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको उनले बताए । अरु व्यक्तिको अनुसन्धानमा सर्वोच्च र विशेष अदालतमा मुद्दा विचाराधीन भएको हुँदा अनुसन्धान गर्न नमिलेको श्रेष्ठको भनाइ छ । एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बन्दा अनुसन्धान नै परिणामुखी नहुने भएकाले समिति आवश्यक नभएको तर्क गरे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया