अखाद्य सामाग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना
ललितपुर । ललितपुरको सयुक्त बजार अनुगमन टोलीले म्याद गुज्रेको सामान विक्री वितरण गरेको भन्दै पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गराएको छ। आइतबार ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट, पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो।
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइएपछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ। यस्तै, म्याद सकिएको बियर विक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको उनले बताए।
संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो। हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने खाद्यबस्तु विक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,सहायक सिडिओ सुनुवारले भने। जिल्लामा तीव्र रुपमा अनुगमन गरिने उनको भनाई छ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरिक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य बस्तुको डिस्पोजल गरिएको बताए। अनुगमन समितिको सदस्य सचिवको काम घरेलु कार्यालय ललितपुरले गर्नेछ। अनुगमन टोलीले अखाद्य बस्तुलाई डिस्पोजल पनि गराएको छ। ‘हामीले अनुगमनको सबै विवरण तयार पार्छौँ, थापाले भने, ‘जिल्ला अनुगमनको नेतृत्व सहायक सिडियो सरले गर्नुहुनेछ, हामी व्यवस्थापनको काम गछौ ।
क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया