कोशीमा केदारलाई विश्वासको मत, राप्रपा मात्रै विपक्षी

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।
संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेस नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेपछि भने सत्ता गठबन्धनका दलहरुले पनि उनलाई समर्थन गर्ने निर्णय गरेका छन् । गठबन्धनले भने माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर शेखरको दबाबमा परेपछि केदारलाई मुख्यमन्त्री बनाउन प्रचण्ड र शेरबहादुर देउवा तयार भएका थिए । कोशी प्रदेशमा एमालेको उपसभामुख सहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया