जाजरकोट भूकम्प अपडेट : यस्तो छ जनधनको क्षतिको विवरण
कर्णाली । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । यसअघि जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५७ जनाको मृत्यु भएको भनिएकोमा उक्त संख्या घटेर १ सय ५३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो । जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको थियो ।
जाजरकोटको नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या १ सय ५३ रहेको छ । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।
भूकम्पमा परेर मृत्यु हुनेमध्ये एक जना गाउँपालिका उपाध्यक्ष, एक जना शिक्षक र ११ जना विद्यार्थी रहेका छन् । भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका परेका छन् । जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेमा ४६ जना अर्थात् ४३ प्रतिशत बालबालिका छन् भने रूकुम पश्चिममा २८ अर्थात ५३ प्रतिशत बालबालिकाले भूकम्पबाट ज्यान गुमाउनु परेको छ ।
भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पु¥याएको प्रारम्भिक अध्ययनले देखाएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम (पश्चिम)का घरमा क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले यो संख्या अझ बढ्ने देखिन्छ । प्राप्त प्रारम्भिक विवरणअनुसार भूकम्पले तीन हजार ७३ घरमा पूर्ण, पाँच हजार ५९५ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ । रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको छ । रुकुम पश्चिममा भूकम्पले दुई हजार १३६ घरमा पूर्ण, दुई हजार ६४२ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ । भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र दुई हजार ६८५ घरमा आंशिक क्षति गरेको छ ।
रुकुम पूर्वका ११८ घरमा आंशिक र पाँच घरमा पूर्ण क्षति गरेको छ । सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, रोल्पाका १७ घर, नवलपरासी पूर्वको एकमा आंशिक क्षति गरेको छ । दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।
भूकम्पले जाजरकोटका २ सय १३ विद्यालयमा क्षति पुगेको छ । आइतबार साँझसम्म प्राप्त विवरणअनुसार ९१ विद्यालय पूर्ण रुपले क्षति भएको र १ सय २२ विद्यालयमा आंशिक क्षति पुगेको हो । ३ सय ६६ कक्षा कोठा पूर्ण रुपमा क्षति भएका छन् । ४ सय ७६ कोठामा आंशिक क्षति पुगेको छ । विद्यालयका ४३ शौचालय, ११ वटा आइसिटी ल्याव, १ पुस्तकालय, ७ विद्यालयका घेराबार र ४ विद्यालयका सोलार सिस्टममा पूर्ण क्षति भएको छ । त्यस्तै ३५ शौचालयमा आंशिक क्षति भएको र विवरण संकलन कार्य जारी रहेको छ ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया