चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि असुरक्षित बन्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालयामा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरुलाई सार्वजनिक गरिएको छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले तस्करको खोजी गर्दै आएको थियो ।
मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ परेको निकुञ्जले जनाइएको छ । पक्राउ परेकाहरुमा मकवानपुरका रमेश खाती, चितवनका पासाङ भनिने आइते सिंह मोक्तान, मकवानपुरका समसेर थिङ, मकवानपुरकै सिताराम थिङ, रोल्पाका अर्जुन रोका, गोरखाका धनवहादुर गुरुङ, चितवनका उन बहादुर स्याङतान र मकवानपुरका इन्द्र बहादुर तामाङ रहेको निकुञ्जले जनाएको छ ।
गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट दुई वटा खागसमेत बरामद गरिएको छ ।
देशभरका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै गैंडाका लागि असुरक्षित बन्दै गएको छ । केहि बर्ष देखि गैडा तस्करी न्यूनीकरण भएको भए पनि पछिल्ला वर्षहरुका फेरी चोरी तस्करी बढेको छ । यसले निकुन्जहरुको सुरक्षामा समेत प्रश्न उठेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैंडा मारेमा वा यसको अंगको कारोबार या ओसारपसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । गैडा मर्ने क्रम बढी रहँदा निकुन्ज कै कर्मचारीको संलग्नता रहेको समेत आंकलन गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया