जलवायु परिवर्तनले नेपाल अन्यायमा परेको भन्दै प्रचण्डले मागे अनुदान
युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गर्दै उनले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको बताएका हुन् । नेपालमा जलवायु परिवर्तनको गम्भीर असरले बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट भइरहेको उनको भनाई छ । हिमालयहरु मानव सभ्यता, पर्यावरण र जैविक विविधताको आधार हो भन्दै उनले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमालय बढी जोखिममा परेको बताए ।
जलवायु परिवर्तनका कारण अति कम विकसित मुलुकहरु समस्यामा परेको भन्दै उनले आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले अल्पविकसित मुलुकका लागि अनुमानयोग्य र समतामूलक स्रोत र प्रविधिको व्यवस्था हुनुपर्ने माग गरे । जलवायु संकटलाई सम्बोधन गर्न अति कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने पनि उनले बताए ।
नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको पनि उनले बताए । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने उनको भनाइ छ । मङ्सिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया