अर्थमन्त्रीले गरे अर्थतन्त्रको बचाउ, यस्तो छ अवस्था

काठमाण्डौ । अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको दाबी गरेका छन् । आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको जनाएका हुन् । २६ मंसिरसम्म सरकारले ३४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्षको यही अवधिमा ३२ अर्ब ४३ करोड पुँजीगत खर्च भएको थियो । गत वर्षभन्दा यो अवधिमा भएको पुँजीगत खर्च ५ दशमलव ९ प्रतिशतले बढी हो । त्यस्तै, समग्र राजस्वमा ७ दशमलव ५७ प्रतिशत वृद्धि भएको पनि अर्थमन्त्री महतले जनाए ।
भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत वृद्धि भएको उनले बताए । अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु देखिन थालेको दाबी गरे ।
अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेका कारण अर्थतन्त्रमा समस्या देखिएको स्वीकार गरे । आफूले अर्थतन्त्रलाई माथि उकास्न लिएका नीतिहरु प्रभावकारी ढंगबाट कार्यन्वयन हुँदा नतिजा देखिन थालेको मन्त्री महतको दाबी छ ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्दै अघि बढ्दै आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको मन्त्री महतको भनाइ छ । वित्तीय क्षेत्रतर्फ मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको मन्त्री महतको दाबी छ । यसका कारण ब्याजदर क्रमशः घट्दै गएको र हाल अन्तरबैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको उनले बताए ।
आर्थिक वर्ष २०७९–८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा १३० अर्ब पुगेको पनि अर्थमन्त्री महतले बताए । यस्तै निक्षेपतर्फ २०७९–८० को पहिलो चार महिनामा ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब पुगेको अर्थ मन्त्रालयको तथ्यांक छ । मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्वित भएको मन्त्री महतको भनाइ छ । घरजग्गा र सेयर कारोबार बढ्न सुरु भएको र सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको उनको भनाइ छ ।
क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार
प्रतिक्रिया