ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागु ,के-के भए फेल भइन्छ ?
वाग्मती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्सं) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयनमा आएको छ ।वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार बुधवार देखि ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु गरिएको हो ।यस्तो प्रणाली लागु गर्न नसक्दा ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने घटना बढेको थियो ।
अब भने यस्तो समस्या नहुने र ट्रायल दिन बाँकी सबैको छिटोभन्दा छिटो पालो आउने मन्त्रालयको दाबी छ । पहिले ३० प्रतिशत मात्र ट्रायल पास हुन्थे भने अब भने ७० प्रतिशत चालकहरु पास हुने मन्त्रालय बताउछ । ७० प्रतिशतको व्यवस्थाले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झन्झटलाई न्यूनीकरण गर्ने अपेक्षा वाग्मती प्रदेशको छ।
नयाँ प्रणालीमा के व्यवस्था छ त ?
निर्देशिकामा वर्ग क (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ख (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ। निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क र ट ) (ए र के) र वर्ग ख (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००/५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ। यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ।
यसमा चार/चार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।
यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो। तर यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ। अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ।ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ। त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ।
प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ । अंकभार यसप्रकार छः
घुमाउरो आठ -20 अंक
साँघुरो फलेक-१० अंक
युटर्न-१० अंक
ट्राफिक संकेत-१५ अंक
बम्प्स -१५ अंक
उकालो-२० अंक
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन-१० अंक
यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः
घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।
फेल हुने अवस्थाहरूः
एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
सवारीको स्टार्ट बन्द भएमा।
साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया