यस्तो छ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम
काठमाण्डौ । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाइएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको हो । सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान ,आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिएका छन् । उक्त मस्यौदाको शीर्षक ‘पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ राखिएको छ ।
यसमा १३ वटा बुँदाहरू रहेका छन् । मस्यौदामा अहिलेको निराशालाई चिर्ने कुरा, आर्थिक शिथिलतालाई अन्त्य गर्ने, वित्तीय सुशासन कायम गर्ने जस्ता विषय समेटिएका छन् । त्यसैगरी छरितो सेवा प्रवाह गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, शिक्षा स्वास्थ्यका कुरा, भौतिक पूर्वाधारका कुराहरू, भूमि व्यवस्थापनलगायतका विषयहरू छन् ।
भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने, बिभिन्न स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने बिषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् । अब मस्यौदालाई शीर्ष नेताहरू अध्ययन गर्नेछन् । अध्ययन गरेर आवश्यक परिमार्जन गरेपछि यसलाई आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया