भ्रष्टाचारसँग जोडिएका जुनसुकै कालखण्डको छानबिन गर्ने प्रचण्डको घोषणा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसँग जोडिएका जुनसुकै कालखण्डको भएपछि छानबिन हुने बताएका छन् । सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानून कार्यान्वयनको पाटोलाई ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ । वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।’
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
उनले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । देशलाई सुशासनको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया