क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाइ छ । तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।
प्रधानमन्त्रीले भने, तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।
हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलामा नेपालले क्लीन स्वीप गरेको छ। नेपाली टोली अर्को साता यूएईमा हुने त्रिदेशीय शृङ्खलाका लागि फागुन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया