Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

आज विश्व वातावरण दिवस : विश्व समुदायलाई राष्ट्रपति पौडेलको आह्वान


काठमाण्डौ । विश्व वातावरण दिवस नेपालमा पनि विभिन्‍न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा तय गरिएको छ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले अहिले नै वातावरण संरक्षणमा जुट्न नसके आगामी पुस्तालाई जीवन जिउन कठिन हुने बताए । उनले अहिले प्लाष्टिकको बोटलमा पानी खानुपर्ने अवस्थाले मानिसको जीवनमा निकै असर पुग्ने भएपनि त्यसतर्फ ध्यान दिन नसकेको धारणा राखे ।

संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरु बढेको बताए । उनले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतीहरु थपिएको बताए ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उनको भनाइ छ । जलवायु परिवर्तनको असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गरे । उनले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने उनले बताए ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतिकको रुपमा बिरुवा रोपेर मनाउन आग्रह गरे । वातावरण संरक्षणका लागि चौतारी र पोखरीको सभ्यताको जगर्ने गर्न उनको आग्रह छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode