संसदमा सभामुखसँग रास्वपाको आक्रोष, एमाले सभामुखकै पक्षमा, माओवादी कसको पक्षमा ?

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा सभामुखले बोल्दैबोल्दै लाइन काटेपछि रास्वपा र राप्रपाका सांसदहरु विरोधमा उत्रिएका छन् । आकस्मिक समयमा रास्वपा सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले विषय केन्द्रीत नभएको भन्दै लाइन काटेका थिए ।
ढकालले यातायात सम्बन्धी विषयवस्तुसँगै विद्यूत प्राधिकरणबारे बोल्न खोजेका थिए । विषय केन्द्रीत नभएको भन्दै सभामुखले लाइन काटेका थिए । सभामुखले लाइन काटेपछि रास्वपा र राप्रपाका सांसदले कडा आपत्ति जनाए । उनीहरुले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले पटक–पटक आफनो ध्यानाकर्षण भएको जनाउँदा पनि रास्वपा र राप्रपाका सांसदले आसन ग्रहण गर्न मानेनन् । रास्वपा र राप्रपाको शैलीको एमाले सांसदहरुले पनि विरोध गरेका थिए । रास्वपा सांसदले अवरोध गरेपछि सत्तारुढ दलका सांसद रघुजी पन्त र ठाकुर गैरे उठेर बोल्न खोजे पनि सभामुखले समय दिएनन् ।
त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नपाउने बताए । संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको लिङ्देनको भनाइ छ ।
केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठे । अन्तिममा सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसे र संसद बैठक सञ्चालन भएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया