तनहुँको ऐनपहरामा बस दुर्घटना : ४३ जनामध्ये १४ जनाको मृत्यु
तनहुँ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको नेपालस्थित भारतीय दुतावासले उल्लेख गरेको छ ।
दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।
एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको एपीएफले जनाएको छ । साथै मनकामना गण २३ भानु तनहुँबाट ३५ जनाको टोली उद्दारमा खटिएको छ ।
अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्दारमा डोरीको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ । भिर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको छ ।
घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पनि पठाइएको छ । मेडिकल टिमसहितको टोली पठाइएको हो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया