Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

रवि लामिछानेलाई संसदीय समितिको प्रश्न : २ करोड ४५ लाख खै ? (तस्विर)


काठमाण्डौ । सहकारी अनियमिततामा आफ्नो कुनै सम्लग्नता नरहेको दाबी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्ततः छानविन समितिमा बयान दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँग शुक्रबार बयान लिएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।

   समितिले लामिछानेलाई बयानका लागि पहिलै प्रश्न तयार पारेर बोलाएको थियो । समितिले सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्ने प्रश्न सोधेको छ । तर रविले गोरखा मिडिया नेटवर्कको नाममा गएको पैसाको जिम्मा आफूले लिनु नपर्ने जवाफ दिएको बुझिएको छ ।

इन्कारी बयान दिएका लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने भन्दै पन्छिएका हुन् । सहकारी दुरुपयोगमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका उनी सुप्रिम वचत तथा ऋण सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको खातामा २ करोड ४५ लाख जम्मा भएको खुलासा भएपछि बयान दिन बाध्य भएका थिए ।

समितिका सदस्यहरुले पनि यही विषयलाई जोड दिएर लामिछानेसँग बयान लिएका हुन् । यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ? भन्दै सदस्यहरुले लामिछानेको नियतमाथि प्रश्न उठाएका थिए । तर लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने जवाफ फर्काए । उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बताए ।


यसअघि समितिले आजै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरिएको प्रहरी, सीआईबी र स्थानीय तहले गरेको अध्ययन तथा छानबिन प्रतिवेदनहरूमा उल्लेख छ ।

यी विवरण बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै तत्कालीन प्रतिपक्ष कांग्रेसले संसद्मा आवाज उठाएपछि छानबिन विशेष समिति बनेको हो । सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले करिब ३ महिनादेखि सहकारी बचत हिनामिनामा छानबिन गरिरहेको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode