माओवादीलाई कसैले फुटाउन नसक्ने प्रचण्डको विश्वास

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले पटक पटक गरेपनि कसैले फुटाउन नसक्ने बताएका हुन् ।
केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनका भनाइ छ । प्रचण्डले पार्टीलाई बलियो बनाउदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे । ‘कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन’, उनले भने ।
प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् । ‘अब तपाईं हाम्रो टाउकोमा तरबार झुण्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने ।
उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफु नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे । अहिलेको सरकार भ्रष्टाचारीहरुकै सरकार भएको उनले बताए ।
प्रचण्डले अध्यारोमा रमाउनेहरुलाई अहिले उज्यालो मन नपरेको भन्दै अध्यराका पक्षपातीहरुले विद्युत वक्यौतामा विवाद निकालेको तर्क गर । त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडी फर्काउने षडयन्त्र माओवादी रहदासम्म सफल हुन नदिने स्पष्ट पारे ।
उनले आत्मसमिक्षाका साथ जनताको घर घरमा जान र माओवादीले गरेका कामहरुका बारेमा जानकारी गराउन नेता तथा कार्यकतालाई निर्देशन समेत दिए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया