मैत्री समूह गठनमा कांग्रेस, एमाले र माओवादीबीच भागबण्डा
काठमाडौं । संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ । बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका हुन् । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिए । उनले संसदीय मैत्री समूहका संयोजकहरुले सम्बन्धीत देशसंग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गरे । संसदीय मैत्री समूह गठनमा ढिलाई भएको भन्दै उनले अव सक्रिय रुपमा अघि बढाउन समेत सुझाव दिए ।
सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थीत गरिने बताए । उनले संघीय संसदका १६ वटा संसदीय समूहलाई व्यवस्थीत गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थीत गर्ने कुरा सम्भव नरहेको बताए । नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा विराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।
मैत्री समूहमा १४ वटा देशको संयोजक नेपाली कांग्रेसको भागमा परेको छ । त्यस्तै, नेकपा एमालेले १२ वटा देशको मैत्री समूहको संयोजक लिएको छ । नेकपा माओवादी केन्द्रले ६ वटा देशमा मैत्री समूहको संयोजक लिएको छ ।
क्याटेगोरी : खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया