यी हुन,त्रिभुवन विश्वविद्यालयको जग्गामा रजाई गर्नहरु
काठमाडौं । नेपालको समग्र विकासको लागि आवश्यक मानव संसाधन तयार गर्न, स्तरिय उच्च शिक्षा प्रदान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न र कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रहरुमा व्यापक, अनुभुतिमुलक तथा समयमा नै व्यक्तिहरुमा ज्ञानको निर्माण र अनुसन्धान गराउने मुख्य उदेश्य राखेर सन् १९५९ अर्थात बि।स।२०१६ सालमा स्थापना भएको नेपालमा उच्च शिक्षाको लागि पहिलो राष्ट्रिय शैक्षिक संस्थान हो त्रिभुवन विश्वबिद्यालय । काठमाडौंको किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयमा कुनै बेला बिद्यार्थीको चाप धान्नै मुस्किल पर्दथ्यो ।
गुणस्तरीय तथा उच्च शिक्षा हासिल गर्न देशभरका बिद्यार्थीको रोजाई बन्ने यहि त्रिभुवन बिश्वबिद्यालयमा यतिबेला बेथितिका चाङ नै चाङ लागिरहेका छन् । कहिले बिद्यार्थीको तालाबन्दी त कहिले प्राध्यापकहरुको नै तालाबन्दी अनि कमिसन र आन्दोलनले निरन्तर थलिदै गएको त्रिभुवन बिश्वबिद्यालयमा बेथिति बढ्दा समेत सरोकारवाला निकाय चै चुप मै चुप छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा चरम दुरुपयोग भएका थुप्रै घटना छन । तीन हजार ६ सय १३ रोपनीमध्ये विभिन्न १९ संस्थाले करिब हजार रोपनी जग्गा भाडामा लिएर कमाउ धन्दा मच्चाइरहेका छन् । कतिसम्म भने प्राज्ञिक काममा लाग्नुपर्ने प्राध्यापकहरूसमेत जग्गाबाट राम्रै आम्दानी हुने देखेपछि दुरुपयोग गर्न सक्रिय बनेका छन् ।
विश्वविद्यालयले प्राज्ञिक कामका लागि आवश्यक भवन निर्माण गर्न भोगाधिकार दिएको बल्खुको पाँच रोपनी जग्गा त्रिवि प्राध्यापक संघले गाडी पार्किङ र ग्यारेजलाई भाडामा लगाएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस र रिङरोडसँग जग्गा जोडिएको छ । संघले पदाधिकारी र प्रशासनलाई जानकारी समेत नदिई जग्गा टाटा सुमो पार्किङ स्थल र ग्यारेज बनाउन भाडामा लगाएको हो । पछिल्लो समय कार्यकारी परिषद्ले प्राध्यापक संघलाई दिएको भोगाधिकारको निर्णय फिर्ता लिएपनि पार्किङ र ग्यारेज हटाइएको छैन् । काठमाडौं उपत्यकामा पार्किङको समस्या हुँदा त्यसैबाट मोटो रकम कमाउन त्रिबिको जग्गा नै पार्किङ स्थल बनाइएको छ ।
संघका अघिल्ला अध्यक्ष योगेन्द्रनारायण बडबडियाको पालामै कार्यसमितिका व्यक्तिहरूले जग्गा लिजमा लगाउनुपर्ने दबाब दिएका थिए । बडबडियाले प्राज्ञिक काम गरेरै आम्दानीको स्रोत जुटाउन सकिने भन्दै भाडामा लगाएका थिएनन । तर, प्राध्यापक डाक्टर वसन्त ढकाल नेतृत्वमा आएपछि अहिलेको कार्यसमितिले जग्गा तेस्रो पक्षलाई सुम्पिएर जग्गा भाडामा लगाइएको छ । जग्गा लिजमा दिने प्रक्रियामा अध्यक्ष ढकाल र अर्को पक्षबाट प्रशंसा बस्नेतले हस्ताक्षर गरेका छन् । मासिक दुई लाख दिने सम्झौता भएपनि पुसयता संघले भाडा उठाउन सकेको छैन् । भवन निर्माणका लागि दिइएको जग्गा भाडामा लगाउनुपर्ने अवस्था किन आयो त रु यही प्रश्न बिद्यार्थीले सोधिरहेका छन् ।
क्याम्पससँगै जोडिएको जग्गामा पार्किङ र ग्यारेज बनाइएपछि विद्यार्थीको पढाइ समेत प्रभावित हुँदै आएको छ । अधिकांश प्राध्यापक र विद्यार्थीले विरोध गरेका छन् । व्यापक आलोचनापछि त्रिवि कार्यकारी परिषद्ले संघलाई दिएको भोगाधिकार फिर्ता गर्ने निर्णय गरेको छ । प्राध्यापक संघले पनि सम्झौता रद्द गर्ने निर्णय गरेको छ । तर, टाटा सुमोले जग्गा खाली गरेको छैन । बरु, संघभित्रकै केही व्यक्तिको मिलेमतोमा सम्झौता गर्ने बस्नेतको तर्फबाट मुद्दा परेपछि विवाद अदालतमा अल्झिएको छ । विश्वविद्यालयले त्रिवि प्राध्यापक संघलाई भवन बनाएर बस्न र उपभोग गर्न जग्गा उपलब्ध गराएको थियो ।
त्रिविको जग्गामा गाडी पार्किङ र ग्यारेज बनाउनु सुहाउँदो विषय होइन । अर्कोतर्फ लेबोरेटोरी माध्यमिक आवासीय विद्यालयले पनि त्रिविको एक सय १३ रोपनी जग्गा ओगटेको छ । यो स्कुल लिटिल एन्जल्स ‘सिस्टम’ अर्थात् गुठीका रूपमा चलेको छ । सुरुमा त्रिवि शिक्षा संकायका विद्यार्थीको शिक्षण अभ्यासको उद्देश्यले स्कुल स्थापना गरिएको थियो । २०५७ साउन १३ गते शिक्षा मन्त्रालय र गैरसरकारी संस्था शिक्षा समाजबीच १५ वर्षे सम्झौता भएअनुसार त्रिविले जग्गा उपलब्ध गराएको थियो । २०७२ मा सम्झौता सकिएपनि त्रिविले जग्गा खाली गर्न पटक–पटक ताकेता गर्दा पनि स्कुल व्यवस्थापनले छाड्न मानेको छैन । यी दुई त प्रतिनिधि घटना मात्रै हुन् त्रिबिको जग्गा कब्जा नै गरेर ओगटेका थुप्रै संस्था छन् ।
कुन संस्थाले कति ओगटेका छन् जग्गा रु
बिपी प्लानेटोरियमः १५० रोपनी
कृषि बागवानीः २ सय ८१ रोपनी १४ आना
खानेपानी संस्थानः १८ रोपनी
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डः २४ रोपनी
आयुर्वेद अनुसन्धान केन्द्रः ३० रोपनी
महानगरीय प्रहरी वृत्त, कीर्तिपुरः ४ रोपनी
महानगरीय प्रहरी वृत्त, कालीमाटीः एक रोपनी
राधास्वामी सत्सङ व्यासः १५ रोपनी
त्रिवि प्राध्यापक संघः करिब ५ रोपनी
नेपाल प्राध्यापक संघः २७ रोपनी आठ आना दुई पैसा
नेपाल बैंक लिमिटेडः १ रोपनी एक पैसा एक दाम
ग्लोबल आइएमई बैंकः र्२ आना, तीन पैसा तीन दाम
नेपाल नेत्रज्योति संघः १० रोपनी
रक्तसञ्चार केन्द्र, लायन्स क्लब इन्टरनेसनलः ३ रोपनी
नेपाल क्रिकेट संघः करिब १०० रोपनी
चाइनिज एकेडेमी अफ साइन्स, गणतन्त्र स्मारकः ६० रोपनी
त्रिभुवन बिश्वबिद्यालयभित्र चल्ने राजनीति र बिद्यार्थी संगठन प्राध्यापकबीच चल्ने निरन्तरको जुहारीले बिश्वबिद्यालय नै धरासायी बन्दै गएको छ । तर, बेथिति सुधार गर्न भने कोही पनि अग्रसर भएको देखिदैन ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया