रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमान विजेता
काठमाण्डौ । ओमानले रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । ओमानले ९ विकेट गुमाई १ सय ८४ रन बनाएपछि खेल टाइ भएको थियो र निर्णय सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् । तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।
ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए । ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए । नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २÷२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १÷१ विकेट लिए ।
त्यसअघि नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए । उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे । यसअघि नै फाइनलमा पुगेसँगै नेपाल र ओमानले अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा स्थान पक्का गरेका थिए । नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया