त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको कमब्याक, फाइनलमा स्थान पक्का
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/03/rohit-gulsan.jpg)
काठमाण्डौ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जितका लागि १ सय २१ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाएर भेटायो । नेपालको जितमा तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्सन झाको ८७ रनको उत्कृष्ट साझेदारी रह्यो । रोहित ४६ रनमा आउट भए भने गुल्सन ३८ रनमा आउट भए । कुशल भुर्तेलले १२ रन जोडे भने आसिफ शेख ८ रनमै आउट भए । दिपेन्द्र सिंह ऐरी ४ रन र कुशल मल्ल २ रनमा नटआउट रहे ।
टस जितेर ब्याष्टिङमा उत्रिएको नेदरल्याण्ड्सले १९ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई÷दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । करण केसीले पहिलो ओभरमै दुई विकेट लिएपछि नेदरल्याण्ड्स सुरुदेखि नै दबाबमा परेको थियो ।
नेपालको आजको जितसँगै सिरिजको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालको चारमध्ये दुई खेल जितेको छ । नेदरल्याण्डले तीनमध्ये दुई खेल जितेको छ भने उसले नामिबियासँग एक खेल खेल्न बाँकी छ । नामिबियाले तीनमध्ये एक खेल जितेको छ । अन्तिम खेलमा नेदरल्याण्डले नामिबियालाई जितेमा नेपालको फाइनलमा स्थान पक्का हुनेछ भने नामिबियाले जितेको अवस्थामा नेपाल र नामिबियामध्ये जसको रनरेट राम्रो छ उही फाइनलमा पुग्नेछ । अहिले नामिबियाकोभन्दा नेपालको रनरेट धेरै राम्रो रहेकाले नामिबियाले जिते पनि नेपालको रनरेटभन्दा अघि पुग्ने सम्भवना न्यून रहेको छ । अब आइतबार लिगको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् ।
सुरुका २ खेल लगातार हारेर दबाबमा परेको नेपाल पछिल्ला दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै फाइनमा पुग्न सफल भएको हो ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया